माघ महिनामा पनि ब्याजदर नबढ्ने,शेयर बजारमा सकारात्मक प्रभाव पर्ने

काठमाडौं - वाणिज्य बैंकहरूले माघ महिनाको लागि पनि ब्याजदर यथावत राख्ने भद्र सहमति गरेका छन् ।  बैंकर्स एसोसिएसनको बैठक बसेको थियो, बैठकमा माघमा पनि पुसकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक सहमति गरेको छ । 

बैंकहरुले पुस महिनामा पनि मंसिरकै निक्षेपको ब्याजदर कायम गरेका थिए। बैंक तथा वित्तीय संस्थाले गत कात्तिक र मंसिरमा भने १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए।  राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ। सोही निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले माघका लागि आउँदो शुक्रबारसम्म ब्याजदर प्रकाशन गर्नुपर्छ।

अघिल्लो महिनामा आफ्नो वर्गका वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन सक्ने छुट बैंकहरुलाई छ। वाणिज्य बैंकहरुले आपसमा सहमति गरेर मंसिरका लागि एकवर्षे व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत प्रकाशन गरेका थिए। संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.०५ प्रतिशत र साधारण बचतको ५.०५ प्रतिशत तोकिएको थियो। पुसमा पनि सोही ब्याजदर कायम छ। अब माघमा पनि सोही ब्याजदरले नै निरन्तरता पाउनेछ। 

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीले नबढाउने सम्भावना प्रबल रहेको एक विकास बैंकका उच्च तहका कर्मचारीले जानकारी दिए। ‘ब्याजदरका विषयमा छलफल गर्न भोलि डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बैठक डाकेको छ’, उनले भने, ‘माघमा पुसकै ब्याजदरलाई निरन्तरता दिने सहमति हुन सक्छ।’ 

प्रतिक्रिया