काठमाडौंमा ११ तले गाडी पार्किङ स्थल निर्माण


काठमाडौं–काठमाडौंमा सवारीको चाप र साँघुरा सडकको कारण जहाँ गयो त्यही पार्किङको समस्या छ । पुराना भवनहरुमा पार्किङ छैन । नयाँ भवनहरुमा केहीले पार्किङ बनाए पनि प्रयाप्त छैन । यसैबीच पार्किङको समस्या हल गर्न भाटभटेनी सुपर मार्केटले ११ तले गाडी पार्किङ स्थल निर्माण गरेको छ । स्मार्ट पार्किङ बनाएर उदाहरण पेस गरिसकेको छ ।

 व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीको टंगाल स्टोरमा बहुतले पार्किङ बनाएका हुन् । टंगाल भाटभटेनीमा बनेको ११ तले पार्किङ सम्भवतः देशकै पहिलो हो । भाटभटेनीको टंगाल आउटलेटमा चारवटा बहुतले रहेकामा एउटा बहुतलेमा ११ वटा गाडी अट्ने बताइएको छ ।
साढे चार आना क्षेत्रफलमा बनेको ११ तलामा कुल ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ । टंगाल भाटभटेनी जाने ग्राहकले बहुतले पार्किङमा गाडी राखेर बाहिर निस्केपछि खाली ठाउँमा गाडी आफैँ पुग्छ । 


यो पूर्णतया अटोमेटिक पार्किङ हो । टंगाल आउटलेटमा खुला पार्किङमै ७० वटासम्म गाडी र तीन सय हाराहारी बाइक तथा स्कुटर पार्किङ गर्न मिल्ने ठाउँ भए पनि पार्किङको अभाव खड्किँदै गएपछि बहुतले पार्किङ बनाइएको हो । भाटभटेनीका सञ्चालक गुरुङ भन्छन्, ‘यदि कोभिड महामारी नफैलिएको भए हामीले अघिल्लो वर्ष नै बहुतले स्मार्ट पार्किङ सञ्चालनमा ल्याइसकेका हुने थियौँ ।’

उनी भन्छन्, ‘यही आर्थिक वर्षभित्रमा चारवटा आउटलेटमा स्मार्ट पार्किङ बनाउनेछौँ र बिस्तारै दुुई वर्षमा सञ्चालनमा आएका १९ वटै भाटभटेनीमा स्मार्ट पार्किङ बनाउने योजना रहेको छ ।’ गुरुङ थप्छन्, ‘पार्किङका लागि पर्याप्त खाली ठाउँ नभएको हुनाले पार्किङका लागि बहुतले पार्किङ उपयुक्त छ ।’ काठमाडौं महानगरपालिकाले वर्षौँदेखि बनाउने भनेर ‘गफ’ मात्र दिइरहेका वेलामा निजी क्षेत्रले त्यही काम छोटो अवधिमै सम्पन्न गरेर देखाइदिएको हो । न्युरोड, असन, इन्द्रचोक, ठमेल, दरबारमार्ग, पुतलीसडक, बानेश्वर, पाटन, मंगलबजार, कुमारीपाटीलगायत ठाउँमा बहुतले पार्किङको विकल्प देखिँदैन । पछिल्लो समय अव्यवस्थित पार्किङकै कारणले दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुनीलजंग शाह बताउँछन् ।
 

प्रतिक्रिया