आज हरितालिका तीज,पशुपतिनाथसहित देशभरका शिवालयमा तीज विशेष पूजा

काठमाडौं । विश्वभरका नेपाली हिन्दू महिलाले आज हरितालिका तीज श्रद्धा र उल्लासका साथ मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा भगवान् शिवलाई प्रसन्न पार्न व्रत बस्ने र पार्वतीसहित उनको पूजाआराधना गर्ने परम्परा रहिआएको छ।

धार्मिक विश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले कठोर तपस्या गरी महादेवलाई वर पाएकी थिइन्। यही दिनको सम्झनामा तीज व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ। महिलाले प्रायः पति वा भावी जीवनसाथीको दीर्घायु र सौभाग्यको कामना गर्दै यो व्रत बस्ने चलन छ।

व्रतालुहरूले आफ्नो क्षमताअनुसार निराहार, जलाहार वा फलाहार ग्रहण गरी व्रत बस्ने गर्छन्। तीज अघिल्लो दिन दर खाने परम्परा छ, जसमा दाल, भात, तरकारी, दही, दूध र फलफूलजस्ता पौष्टिक परिकार खाने गरिन्छ।

आज व्रतालुहरूले दियो, कलश र गणेशको पूजा गरी बालुकामय उमामहेश्वर मूर्तिको पूजाआराधना गर्छन्। यो पर्वलाई महिलामैत्री चाडका रूपमा लिइन्छ, जसमा भेटघाट, नाचगान र भजन–कीर्तन हुने गर्छ। पछिल्ला वर्षमा हिन्दूेतर समुदायका महिलाले पनि तीज मनाउन थालेका छन्।

तीजका दिन पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा विशेष पूजा तथा भक्तजनको भीड लाग्ने गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय