थापाको राजीनामा निर्णय आइतबार: केन्द्रीय समितिमा अस्वीकृत गर्ने

 

काठमाडौँ । गगनकुमार थापा ले दिएको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय आइतबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने भएको छ। आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले थापाको राजीनामा पेस गर्दै त्यसलाई अस्वीकृत गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। उनले राजीनामा अस्वीकृत गर्नुपर्ने सातवटा आधारसमेत प्रस्तुत गरेका छन्।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पनि शर्माको प्रस्तावप्रति समर्थन जनाउँदै अहिले राजीनामा स्वीकृत गर्नु उपयुक्त नहुने धारणा राखेका छन्। उनीहरूले पार्टीको नियमित १५औँ महाधिवेशनको मिति चाँडै घोषणा गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी प्रवक्ता देवराज चालिसे ले पनि अधिकांश सदस्यहरू राजीनामा अस्वीकृत गर्ने पक्षमा रहेको जानकारी दिएका छन्।

बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ। उक्त बैठकमा चुनावको समीक्षा र सभापतिको राजीनामाबारे थप छलफल हुने जनाइएको छ।

यसैबीच, महामन्त्री गुरुराज घिमिरे ले आगामी बैठकले १५औँ महाधिवेशनको मिति तय गर्ने जानकारी दिएका छन्। उनका अनुसार हालको बैठकले चुनावको समीक्षा गर्नेछ भने अर्को बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नेछ।

यसअघि मंसिरमै कार्यकाल सकिएपछि पार्टीले केन्द्रीय समितिको पदावधि जेठसम्मका लागि थप गरेको थियो। ‘जेनजी’ आन्दोलनपछि करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय समितिमा निवेदन दिएका थिए। सोही आधारमा तत्कालीन महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए, जसबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन भएको थियो।

हाल पार्टीभित्र आगामी महाधिवेशन जेठभित्र गर्ने वा मंसिरमा सार्ने भन्ने विषयमा छलफल जारी छ। महामन्त्री घिमिरेले आगामी बैठकमा महाधिवेशनको विस्तृत कार्यतालिका पेश हुने बताएका छन्।

प्रतिक्रिया