काठमाडौं - कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा आपूर्ति गरिएका छडको भुक्तानी नपाएको भन्दै कानुनी प्रक्रिया अघि बढाएको हो।
पञ्चकन्या स्टिलका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले पटक–पटक गरी सामग्री लिए पनि ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको छ। सन् २०१९ मा धुर्मुस–सुन्तलीले चितवनमा रंगशाला निर्माण अभियान थालेका थिए। चन्दा संकलनमार्फत काम अघि बढाइए पनि कोरोना महामारीका कारण परियोजना अधुरै रह्यो। त्यसपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो।
तर, निर्माणमा लागेको १८ करोडभन्दा बढी ऋण अझै चुक्ता हुन सकेको छैन। धुर्मुसले ऋणको दायित्व महानगरपालिकाले लिने सहमति भए पनि रकम भुक्तानी नहुँदा आफू समस्यामा परेको बताएका छन्। उनी अहिले सिंहदरबार धाएर सरकारसँग सहयोग मागिरहेका छन्।
२०७९ सालमा मन्त्रिपरिषद्ले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरिसकेको छ। अहिले ग्लोबल टेन्डरमार्फत हिमालयन कालिञ्चोक बीबीआर जेभीले काम अघि बढाइरहेकोछ।