ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, कारोबार रकम ८ अर्ब नजिक

काठमाण्डौ। साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि उत्साह देखिएको छ। आइतबार नै देशले नयाँ प्रधानमन्त्री पाउँदै छ। यसरी हेर्दा नयाँ सरकारलाई शेयर बजारले हरियालीसहित स्वागत गरेको छ।

यस दिन परिसूचक करिब ५३ अंकले बढेर समग्र बजार २२५७ विन्दुमा पुगेको छ भने कारोबार रकम सात अर्ब ६२ करोड भन्दा माथि छ। ३०९ कम्पनीहरूको शेयर किनबेच भएकोमा ५ कम्पनीको शेयर मूल्य सर्किट लेवलमा वृद्धि समेत भएको छ।

बीमा उपसमूह सबैभन्दा धेरै वृद्धि हुँदा उत्पादन समूहमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ। जानकी फाइनान्सको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा धेरै कारोबार हुनेमा फाइनान्स अग्रस्थानमा रहेको छ।

दाहाल सरकार विदा भएर ओली सरकार आउने तथा ओली सरकारमा विष्णु पौडेल अर्थमन्त्री हुने चर्चाका बीच लगानीकर्तामा उत्साह आएको छ। तर आर्थिक सूचकहरूमा भने त्यस्तो सुधार केही देखिएको छैन। त्यसैले अहिलेको वृद्धि अल्पकालीन हुन सक्ने धेरैको बुझाइ छ।

प्रतिक्रिया