ग्यास सहज बनाउन उद्योग र डिपोमा सरकारको अनुगमन तीव्र

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाइएको गुनासो बढेपछि सरकारले ग्यास उद्योग तथा डिपोको अनुगमन तीव्र बनाएको छ।

नेपाल आयल निगमले साविकको तुलनामा पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौंमा रहेका ग्यास उद्योग तथा डिपोको अनुगमन गरेकी हुन्।

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिएकी थिइन्। त्यसपछि उनले निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको ग्यास डिपोको समेत निरीक्षण गरेकी थिइन्।

अनुगमनका क्रममा मन्त्री यादवले विद्यार्थी, मजदुर तथा अन्य अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री वितरण गर्न निर्देशन दिएकी छन्। उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने तथा सहज रूपमा ग्यास नपाउने अवस्था अन्त्य गर्न उनले सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न आग्रह गरेकी छन्।

ग्यासको आपूर्ति व्यवस्थामा समस्या देखिएपछि नेपाल आयल निगमको निर्देशनमा साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री वितरण गर्दै आएका छन्।

उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ समेत गठन गरेको छ। उक्त टोलीले ग्यासको बिक्री वितरण तथा आपूर्तिको अवस्थाको निगरानी गरिरहेको निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जानकारी दिँदै आगामी दिनमा आयातको परिमाण थप बढाउने प्रयास भइरहेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय