काठमाडौं। खाडी मुलुक तथा पश्चिम एसियामा विकसित पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा समन्वयका लागि आपतकालीन उद्धार टोली गठन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी मुलुक, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा टोली गठन गरिएको जानकारी दिए। टोलीमा गृह, अर्थ, कानुन तथा न्याय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सहभागी रहने जनाइएको छ। सम्बन्धित निकायलाई प्रतिनिधि मनोनयन गर्न पत्राचार भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रभावित देशस्थित नेपाली दूतावास, राजदूतावास तथा महावाणिज्य दूतावासलाई नियमित ‘सिचुएसन एनालाइसिस’ प्रतिवेदन पठाउन निर्देशन दिइएको छ। कतार, इजरायल, साउदी अरब, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनानलगायत देशमा रहेका नेपाली हालसम्म सुरक्षित रहेको प्रारम्भिक विवरण प्राप्त भएको जनाइएको छ। कतारको हवाई क्षेत्र बन्द रहेकाले ट्रान्जिटमा रहेका नेपालीलाई होटलमा बसोबासको व्यवस्था गरिएको र सम्बन्धित एयरलाइन्सले आवश्यक हेरचाह गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ। इरानमा रहेका छ जना नेपाली दूतावासको सम्पर्कमा रहेको र उनीहरू सुरक्षित रहेको जानकारी पनि दिइएको छ।
युएईमा भएको आक्रमणमा गोरखा घर भएका दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गर्दै मन्त्रालयले शव स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ। सो घटनामा अन्य केही विदेशी नागरिकको पनि मृत्यु र दर्जनौं घाइते भएको विवरण आएको छ। साउदी अरबको रास तनुरा क्षेत्रमा ड्रोन आक्रमण भएको सूचना प्राप्त भए पनि त्यहाँ जनजीवन सामान्य रहेको बताइएको छ। कुवेत र इराकमा अमेरिकी सैन्य आधार नजिक ड्रोन आक्रमण भएपछि सुरक्षा सतर्कता बढाइएको र केही स्थानमा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जानकारी मन्त्रालयले दिएको छ। मन्त्रालयले नेपाली नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, आधिकारिक सूचना मात्र विश्वास गर्न र आपतकालीन अवस्थामा सम्बन्धित निकाय तथा दूतावाससँग सम्पर्कमा रहन आग्रह गरेको छ।