अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा १३.३३ प्रतिशतले वृद्धि भएको हो। २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो।
सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, अर्धवार्षिक समीक्षापछि लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब बनाइएको थियो। संशोधित लक्ष्यको ९१.६० प्रतिशत राजस्व संकलन गर्न सरकारले सफल भएको छ।
राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद् र अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद पनि राजस्व संकलन अघिल्लो वर्षको तुलनामा उत्साहजनक भएको छ। उनले चालू आव २०८२/०८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तय गरिएको र त्यसअनुसार तयारी थालिएको जानकारी दिएका छन्।
अघिल्ला केही वर्षको राजस्व संकलन विवरण हेर्दा निरन्तर वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७१/०७२ मा ४ खर्ब ५ अर्ब संकलन भएको थियो भने २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो।
त्यसपछि २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।
| आर्थिक वर्ष | संकलित राजस्व (खर्बमा) |
|---|---|
| २०७१/०७२ | ४.०५ खर्ब |
| २०७२/०७३ | ४.८१ खर्ब |
| २०७३/०७४ | ६.०९ खर्ब |
| २०७४/०७५ | ७.२६ खर्ब |
| २०७५/०७६ | ८.२९ खर्ब |
| २०७६/०७७ | ७.९३ खर्ब |
| २०७७/०७८ | ९.३५ खर्ब |
| २०७८/०७९ | १०.६६ खर्ब |
| २०७९/०८० | ९.५७ खर्ब |
| २०८०/०८१ | १०.५८ खर्ब |
| २०८१/०८२ | ११.७८ खर्ब |