देशभर आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

देशभर कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु हुँदैछ, जसमा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना परीक्षार्थी सहभागी हुँदै छन्। देशभर १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ भने ५ हजार २ सय २ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँबाट परीक्षामा सहभागी हुनेछन्।

७७ वटै जिल्लाबाट सहभागी भइरहेका परीक्षार्थीमध्ये मनाङबाट सबैभन्दा कम ४५ जना र काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार १ सय ३३ जना छन्। काठमाडौंमा १ सय ६२ परीक्षा केन्द्र तोकिएका छन् भने मनाङ र मुस्ताङमा एक–एक परीक्षा केन्द्र तोकिएको छ। परीक्षा सञ्चालनका लागि ४८ हजार २ सय ९ जना जनशक्ति खटाइनेछ। यसअघि शिक्षकको आन्दोलनका कारण वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा १० दिन पछाडि सारिएको हो।

परीक्षा स्वच्छ, मर्यादित र अनुशासित बनाउन बोर्डले सबै तयारी पूरा गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ, जसले परीक्षा अनुगमन र निरीक्षण गर्नेछ। परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक कसैलाई मोबाइल लैजान नदिने नियम बनाइएको छ।

कोभिड महामारीपछि सुरु गरिएको विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाउने कार्यलाई निरन्तरता दिइँदैछ। परीक्षा सुरु हुनुभन्दा ३० मिनेटअघि मात्र केन्द्राध्यक्षले 'युजर आईडी' मार्फत प्रश्नपत्र डाउनलोड गर्न पाउने व्यवस्था मिलाइएको छ। प्रश्नपत्र डाउनलोड र छपाइका क्रममा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा प्रहरी प्रमुख अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।

बोर्डले परीक्षा केन्द्र निर्धारण, सुरक्षा संयोजन, गोष्ठी तथा गोप्य सामग्री व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको जनाएको छ। 'लेटर ग्रेडिङ निर्देशिका २०७८' अनुसार कुनै पनि विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङमा पर्नेछ।

यसैबीच, शिक्षक आन्दोलनका कारण रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षण पनि सुरु भएको बोर्डले जनाएको छ। उत्तरपुस्तिका परीक्षणमा झन्डै तीन साता ढिलाइ भएको हो। बोर्डले असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने लक्ष्य भए पनि केही दिन ढिलाइ हुन सक्ने जनाएको छ।

प्रतिक्रिया