ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले सुरु गरेको हुनाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। यस पात्रोअनुसार नयाँ वर्ष मनाउनेहरूले आज एक-अर्कालाई शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक नयाँ वर्ष मनाइरहेका छन्।
ग्रेगोरियन पात्रो सौरमासका आधारमा निर्माण गरिएको मानिन्छ। तर यसलाई आलोचना गर्नेहरूले सौरमासमात्रमा आधारित भएकाले वैज्ञानिक रूपमा पूर्ण रूपमा सन्तुलित छैन भन्ने तर्क गर्छन्।
विभिन्न पात्रो र संवतमा अध्ययनरत डा. शास्त्रदत्त पन्तका अनुसार वैदिक कालदेखि नै सौरमास र चन्द्रमासको समन्वयमा आधारित विक्रम संवत वैज्ञानिक दृष्टिले उत्कृष्ट रहे पनि इस्वी संवतको प्रभाव विश्वव्यापी रूपमा बढ्दै गएको छ। उनका अनुसार एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुन्छ। दिनभन्दा साना एकाइले गणनामा असर पार्ने भएकाले विक्रम संवतमा तीन वर्षमा एक पटक अधिकमास राखेर समायोजन गरिन्छ।
इस्वी संवतमा भने ‘लिप इयर’ मार्फत समायोजन गर्ने प्रयास गरिए पनि पश्चिमी देशभित्रै यसबारे एकमत छैन।
नेपालमा पनि पछिल्ला वर्षहरूमा अंग्रेजी नयाँ वर्ष उत्साहका साथ मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्ष २०२६ का अवसरमा काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहालगायत आन्तरिक तथा बाह्य पर्यटकहरूको उपस्थिति बढी हुने स्थानमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर नयाँ वर्षको स्वागत गरिएको छ।