काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दानबहादुर कार्कीलाई ३३ औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको सरकारका स्रोतले जनाएको छ।
कार्की प्रहरी सेवा भित्रकै सबैभन्दा अग्रस्थानका दाबेदार मानिन्थे। २०२९ साउन १५ गते गुल्मीमा जन्मिएका उनले २०५४ चैत १८ मा प्रहरी निरीक्षक पदबाट सेवाको सुरुआत गरेका थिए।
उनले काठमाडौँ उपत्यका प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। जेनजी आन्दोलनको विषयले उनको नियुक्ति रोकिएको चर्चा भए पनि सरकार ले वरिष्ठतालाई आधार मान्दै उनलाई नै नेतृत्व दिने निर्णय गरेको हो।
प्रहरी सेवामा रहँदा कार्कीले लुम्बिनी प्रदेश, काठमाडौं, कास्की र कपिलवस्तुसहित विभिन्न जिल्लामा प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका छन्।
इन्स्पेक्टर हुँदा उनले काकडभिट्टा र तनहुँको आबुखैरेनी इलाकामा नेतृत्व गरेका थिए।
डीएसपीमा उक्लिएपछि बुटवल इलाका प्रहरी तथा काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा कमान्ड सम्हालेका थिए।
उपत्यका प्रमुखमा जानुअघि उनी प्रहरी मुख्यालयको मानव स्रोत विकास विभागका प्रमुख थिए।