काठमाडौं । सार्वजनिक ऋणको आकार वर्षेनि बढ्दै जाँदा त्यसको साँवा–ब्याज भुक्तानीमै ठूलो रकम खर्च हुन थालेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च भएको छ।
सरकारले चालु आवका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋण व्यवस्थापनका लागि विनियोजन गरेकोमा समीक्षा अवधिसम्म ४५.५३ प्रतिशत रकम खर्च भइसकेको छ।
आन्तरिक ऋणतर्फ १ खर्ब २६ अर्ब ७६ करोड साँवा र २८ अर्ब ३७ करोड ब्याज गरी १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ। यस्तै, बाह्य ऋणतर्फ २६ अर्ब १३ करोड साँवा र ५ अर्ब ८५ करोड ब्याज गरी ३१ अर्ब ९९ करोड रुपैयाँ तिर्नु परेको मन्त्रालयले जनाएको छ।
पछिल्लो एक दशकमा सार्वजनिक ऋण करिब छ गुणाले वृद्धि भएको छ। एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो। त्यसयता पनि ऋणको दायित्व निरन्तर बढ्दो क्रममा रहेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै साँवा र ब्याज भुक्तानीमा ३ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो। त्यसमध्ये २ खर्ब ९१ अर्ब १९ करोड साँवा र ७० अर्ब ४४ करोड रुपैयाँ ब्याजमा खर्च भएको थियो। आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब ४३ अर्ब ५१ करोड तथा वैदेशिक ऋणको साँवा ४७ अर्ब २८ करोड रुपैयाँ थियो। ब्याजतर्फ आन्तरिक ऋणमा ६० अर्ब २७ करोड र वैदेशिक ऋणमा १० अर्ब १६ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ।