काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने गण्डकी प्रदेशका पहाडी क्षेत्रमा कुहिरो लागेको छ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहन सक्ने र अन्य स्थानमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।
तराई तथा काठमाडौँ उपत्यकामा बिहानको समय धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको र यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, तथा हवाई उडानमा असर पुर्याउन सक्ने भएकाले विभागले सतर्क रहन अनुरोध गरेको छ।