पर्यटन व्यवसायको २०८१: आशा, लगानी र चुनौती

काठमाडौं — नेपालमा सन् २०८१ साल होटल व्यवसायको लागि लगानी वृद्धिको वर्ष बन्यो। काठमाडौं, पोखरा, दमौली, भरतपुर लगायतका शहरहरूमा नयाँ होटलहरू सञ्चालनमा आए भने धेरै अन्य निर्माणाधीन छन्।

देशबन्धु बस्नेतको नेतृत्वमा रु ३ अर्ब लगानीमा बनेको ‘मक्र्योर काठमाडौँ’ देखि, शंकर ग्रुपको ८ अर्ब ३५ करोड लागतमा बनेको ‘हिल्टन काठमाडौँ’, पोखराको ‘टेम्पल बेल बुटिक होटल’सम्म विभिन्न स्तरका होटलहरू खुले। सिद्धार्थ हस्पिटालिटीले पनि विभिन्न स्थानमा होटल सञ्चालन र निर्माण कार्य तिव्र रूपमा अघि बढाएको छ।

गुण समूहको ‘रोयल टुलिप’ र वेस्ट वेस्टर्न प्लस जस्ता परियोजनाहरूले पनि यो वर्षको होटल विस्तारलाई थप बल दिएका छन्। हाल नेपालमा पाँचतारे होटल २३, चारतारे ४१, तीनतारे ३७ र अन्य दर्जनौं पर्यटकस्तरीय होटल सञ्चालनमा छन्।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले एकातर्फ संरचना बनिरहे पनि पर्यटक आगमन र होटलको उपयोग भने कम भएको गुनासो गरेका छन्। “३५ लाख पर्यटक धान्न सक्ने क्षमता भए पनि तेसको एक तिहाई मात्र प्रयोग भएको छ,” उनले भने।

अन्तरराष्ट्रिय स्तरमा पनि नेपालमा विश्वप्रसिद्ध चेन होटलहरू जस्तै मेरियट, रमादा, लेमनट्री, ह्यात प्यालेस लगायतको आगमन भइसकेको छ।

सरकारले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिँदा व्यवसायीहरू उत्साहित छन्। यससँगै पर्यटन मन्त्रालयले कानुनी संरचना सुधार, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, क्षेत्रीय विमानस्थलको सञ्चालन, र पर्यटन प्रवर्द्धनमा जोड दिएको जनाएको छ।

नेपाल पर्यटन बोर्डले पनि आक्रमक अन्तरराष्ट्रिय प्रवर्द्धन अभियान सञ्चालन गर्दै, विदेशी मिडिया र इन्फ्लुएन्सरहरूलाई आमन्त्रण गरिरहेको छ।

यद्यपि भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानहरू स्थगित हुनु, र देशभरका पूर्वाधारहरू अझै पूर्ण क्षमतामा नपुग्नु निराशाको कारण बनेको नाट्टा अध्यक्ष कुमारमणि थपलियाले बताएका छन्।

प्रतिक्रिया