प्रीमियममा आइपीओ निष्कासन - जनतालाई ठगेको आशंका

काठमाडौं - प्रिमियम मूल्यमा (अंकित मूल्यभन्दा बढी) आइपिओ (सार्वजनिक निष्कासन) गरेका नौवटा कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने भएका छन् । सार्वजनिक लेखा समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरूको विषयमा छानबिन गर्न अख्यिारलाई निर्देशन दिएसँगै सो अवधिमा प्रिमियममा जारी भएका नौ कम्पनी छानबिनको दायरामा पर्ने भएका हुन् ।  

धितोपत्र बोर्डका अनुसार तीन वर्षयता प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने कम्पनीमा घोराही सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रो डेभलपमेन्ट, मान्डु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स, हिमालयन रिइन्स्योरेन्स रहेका छन् । यी कम्पनीले गत ०८० वैशाखदेखि मंसिरभित्रै आइपिओ निष्कासन गर्ने अनुमति पाएका हुन् । बोर्डका अनुसार शिवम् सिमेन्टको ०७५ मा प्रिमियममा आइपिओ निष्कासन गरेपछि करिब पाँच वर्ष अन्य कम्पनीले प्रिमियमा आइपिओको निष्कासन अनुमति पाएका थिएनन् । तर, ५ फागुन ०७८ को मन्त्रिपरिषद् बैठकबाट धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्ति भएर आएसँगै प्रिमियममा आइपिओ निष्कासनको लहर नै चल्यो ।

प्रिमियमको अनुमति पाएका आठ कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भइसकेका छन् । तर, प्रिमियम जारी गरेका कम्पनीको सेयर मूल्य मध्यम नै रहेको छ । त्यस्तै, हाल हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर बाँडफाँड मात्र भएको छ भने दोस्रो बजारमा सूचीकृत भई कारोबार हुन बाँकी छ । नयाँ पत्रिका बाट

प्रतिक्रिया