काठमाडौं । सेयर बजार परिसूचक मंगलबार पनि तीव्र गतिमा उकालो लाग्दै ८०.९७ अंकले उक्लिएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २९७३.७० बिन्दुमा पुगेको छ। पछिल्ला पाँच कारोबार दिनदेखिको उकालो यात्रा यस दिन पनि निरन्तर देखिएको हो।
सेन्सेटिभ इन्डेक्स १४.४८ अंकले, फ्लोट इन्डेक्स ५.५४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.६६ अंकले बढेका छन्।
बजारको कारोवार रकम पनि उल्लेख्य रूपमा बढेको छ। सोमबार १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। यस दिन ३१९ वटा स्टकमा १ लाख ७७ हजार १०१ पटक कारोबार हुँदै ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयर झण्डै १० प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको शेयर ९.५ प्रतिशतभन्दा बढीले उक्लिएको छ। यता, मूल्य घटेका स्टकहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहँदा यसको ७१ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको साढे ६८ करोड र हिमालयन रि इन्स्योरेन्सको ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ सबै १३ वटै उपसमूहको परिसूचक हरियो रहे। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै ४.६३ प्रतिशतले बढेको छ। जीवन बीमा र लघुवित्त उपसमूहको वृद्धि दर ४ प्रतिशतभन्दा बढी छ भने होटल तथा पर्यटन, लगानी र अन्य उपसमूह पनि ३ प्रतिशतभन्दा माथि उक्लिएका छन्।