सेबोनले ल्यायो प्राथमिक पूँजी बजार सुधारको श्वेतपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारलाई थप आधुनिक, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिलाई आधार बनाइएको श्वेतपत्रमा प्राथमिक बजारको वर्तमान अवस्था, विद्यमान समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषय समेटिएका छन्। बोर्डले सुधारका कार्यक्रमलाई तीन चरणमा अघि बढाउने प्रस्ताव गरेको छ।

पहिलो चरणमा आगामी एक वर्षभित्र आवश्यक ऐन तथा नियमावली संशोधन गर्ने र बुक बिल्डिङ प्रणालीको समीक्षा गर्ने योजना बोर्डको छ। दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र प्राथमिक सेयर निष्कासन प्रक्रियालाई थप डिजिटल बनाउने लक्ष्य राखिएको छ। यसअन्तर्गत डिजिटल आईपीओ प्लेटफर्म, विद्युतीय ग्राहक पहिचान (ई–केवाईसी), रेगटेक तथा सुपटेकमा आधारित प्रणाली विकास र कार्यान्वयन गरिनेछ।

त्यसैगरी, तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र प्राथमिक बजारमा पूर्ण रूपमा बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ। यसका लागि योग्य संस्थागत लगानीकर्ता तथा एन्कर लगानीकर्ताको सहभागिता सुनिश्चित गर्ने योजना अघि सारिएको छ।

श्वेतपत्रले सार्वजनिक निष्कासन प्रक्रियामा संलग्न विभिन्न पक्षको जिम्मेवारीलाई समेत थप स्पष्ट बनाउने प्रस्ताव गरेको छ। विशेषगरी निष्कासन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाले गर्ने ड्यु डिलिजेन्सलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

बोर्डका अनुसार यसबाट सार्वजनिक निष्कासन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्नुका साथै लगानीकर्ताको विश्वाससमेत थप मजबुत हुनेछ।

सेबोनले श्वेतपत्रलाई आईपीओ प्रक्रियामा सुधार गर्ने दस्तावेजका रूपमा मात्रै नभई दीर्घकालीन पूँजी परिचालन र निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने आधारका रूपमा अघि सारेको छ।

प्रस्तावित सुधारहरू कार्यान्वयन भएमा प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता बढ्ने, वित्तीय साक्षरता विस्तार हुने तथा नयाँ वित्तीय उपकरणको विकासमार्फत दीर्घकालीन लगानीका लागि आवश्यक पूँजी परिचालनमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

 

प्रतिक्रिया