काठमाडौं — रेस्टुरेन्ट, बार, होटल, र लजहरूमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने भएको छ। आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने जानकारी दिएको हो।
विभागले भ्याट फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ, जसमा बार, रेस्टुरेन्ट, होटल, मोटल, लज, र गेस्टहाउसका सेवाहरू समावेश छन्। यसमा विद्युतीय भुक्तानी गर्दा नगद प्रोत्साहनस्वरूप उपभोक्ताले तिरेको करको १० प्रतिशत रकम फिर्ता दिने व्यवस्था गरिएको छ।
मूल्य अभिवृद्धि कर ऐन, ०५२ अनुसार यो निर्णय गरिएको हो। यसका लागि केही सर्तहरू पनि लागु गरिएका छन्। मूल्य अभिवृद्धि करमा दर्ता भई विद्युतीय बीजक जारी गर्ने करदाताहरू यो प्रणालीमा आबद्ध हुन सक्नेछन्।
सूचनामा भनिएको छ, ‘डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, र मोबाइलजस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले भ्याटको १० प्रतिशत रकम बैंक खातामा स्वचालित रूपमा फिर्ता पाउनेछन्।’ विद्युतीय बीजकसम्बन्धी कार्यविधि, ०७४ (संशोधनसहित) अनुसार आन्तरिक राजस्व विभागमा सूचीकृत विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले यो कार्यान्वयनका लागि आफ्नो सफ्टवेयर परिमार्जन गर्नुपर्नेछ।
विद्युतीय भुक्तानीबाट भ्याट फिर्ता दिने कार्यक्रम पहिले नै घोषणा भए पनि कार्यान्वयनमा नआएको थियो। चालु आर्थिक वर्षको बजेटले यसलाई प्रभावकारी बनाउने योजना अघि सारेको थियो। अब आन्तरिक राजस्व विभागले यो योजना कार्यान्वयनमा ल्याउन लागेको हो।
साथै, भ्याटमा दर्ता भएका सबै करदाताहरूले विद्युतीय प्रणालीबाट बिल जारी गर्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ। वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताहरूलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गरिने छ।
सरकारले कर छुट दिँदा त्यसको लेखाजोखा वित्तीय प्रतिवेदनमा समेटिने गरी कर खर्च प्रणालीको पनि सुरुवात गर्नेछ। सरकारी निकायहरूलाई स्थायी लेखा नम्बर अनिवार्य गरी विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्नेछ। यसका लागि स्थानीय तहसँग समन्वय गरी कर विवरण संकलन गर्ने सूचना प्रणालीको विकास गर्ने योजना रहेको छ।