४१ रिक्त पदका लागि आज उपनिर्वाचन

काठमाडाैं - आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर छरिएका ४१ रिक्त पदका लागि उपनिर्वाचन भइरहेको छ। निर्वाचन अन्तर्गत एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्षका पदमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। आयोगले मतदाताहरूलाई तोकिएको केन्द्रमा उपस्थित भई निर्धक्क रूपमा मतदान गर्न आग्रह गरेको छ।

मतदाताले आफ्नो परिचय खुलाउने सक्कल कागजात, जस्तै मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर (PAN) वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनलाई शान्तिपूर्ण र सुव्यवस्थित बनाउन आयोगले सबै सरोकारवालालाई सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया