कांग्रेसलाई पाखा लगाएर एमालेसँग काँध मिलाउने तर्खरमा प्रचण्ड

काठमाण्डौं - एक वर्ष अगाडि राष्ट्रपतिको निर्वाचनमा एक भएका कांग्रेस र माओवादी फेरि बिछोडको संघारमा आएका छन्। 

राष्ट्रिय सभामा अध्यक्षको चयनको लागि प्रक्रिया सुरु भएसँगै दुई दलबीच फाटोको संकेत देखिएको हो।

यस अगाडि राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट कृष्ण सिटौटालाई बनाउने भद्र सहमति भएको थियो। तर सो सहमतिबाट माओवादीपछि हट्ने संकेत गरेको छ । माओवादीको यो संकेतसँगै गठबन्धन संकटमा पर्ने देखिएको छ। 

कोशी प्रदेशमा भोट क्रस गरी माओवादीको उम्मेदवारलाई हराएपछि कांग्रेस र माओवादी बीचको सम्बन्ध केही चिसिन पुगेको थियो। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै गठबन्धनको भविष्य बारेमा चिन्ता व्यक्त गरेका छन्। 

उनले चुनाव अगाडिको परिस्थिति र अहिलेको परिस्थिति फरक भएको समेत बताए । 

यता प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि चितवनमा एउटै मञ्चमा देखिँदै छन् । 

साथै केही नेताहरू एमालेसँगको सहमतिको लागि पनि जुटेको देखिन्छ। यसरी समग्र परिस्थिति हेर्दा एमालेले पुन माओवादीको साथमा सत्ता गठबन्धन बनाउने प्रशस्त संकेतहरु देख्न सकिन्छ । राष्ट्रिय सभाको अध्यक्ष नपाएपछि कांग्रेसले कस्तो कदम चाल्छ भन्ने कुरा आगामी दिनमा देखिनेछ। यसले पनि अझ गठबन्धनको भविष्य प्रष्ट बनाउनेछ।

प्रतिक्रिया