राष्ट्र बैंकको लचिलो नीतिले सेयर कर्जा प्रवाहमा उछाल

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा सेयर धितो कर्जा उल्लेखनीय रूपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को तथ्याङ्कअनुसार एक वर्षमै करिब डेढ खर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह भएको छ ।

गत वर्ष मात्रै बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँभन्दा बढी मार्जिन लोन दिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो रकम करिब ९० अर्बमा सीमित थियो । मौद्रिक नीतिमा देखाइएको लचिलोपनले ठूलो मात्रामा लगानीकर्तालाई सेयर कर्जातर्फ आकर्षित गरेको देखिन्छ ।

विशेष गरी १ करोड रुपैयाँभन्दा माथिको सेयर कर्जामा ठूलो वृद्धि भएको छ । यस्तो श्रेणीको कर्जा गत वर्ष ७६ प्रतिशतले बढेर ९८ अर्ब ९२ करोड पुगेको छ । त्यस्तै, ५० लाखदेखि १ करोडसम्मको कर्जा करिब २९ प्रतिशत, २५ देखि ५० लाखसम्मको कर्जा करिब २२ प्रतिशत र २५ लाखभन्दा कमको कर्जा करिब १२ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ ।

वाणिज्य बैंकहरुको भूमिका अझै ठूलो रहेको छ । गत वर्ष मात्रै वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा दिएका छन्, जुन अघिल्लो वर्षभन्दा ६० प्रतिशत बढी हो ।

व्यक्तिगत बैंकको तथ्याङ्क हेर्दा नबिल बैंक अग्रस्थानमा रहेको छ । यस बैंकले गत वर्ष १६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४७ प्रतिशत बढी हो । दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकले करिब १२ अर्ब ३१ करोड र तेस्रोमा कुमारी बैंकले १० अर्ब ४३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । कुमारी बैंकको कर्जा वृद्धि दर १३८ प्रतिशतभन्दा बढी रहेको छ ।

यस्तै सिद्धार्थ बैंकले ९ अर्ब २८ करोड, प्राइम बैंकले ८ अर्ब २८ करोड, लक्ष्मी सनराइजले ८ अर्ब २५ करोड, नेपाल बैंकले ७ अर्ब ८६ करोड, सिटिजन्सले ७ अर्ब २ करोड, राष्ट्रिय वाणिज्यले ६ अर्ब १५ करोड र प्रभू बैंकले ५ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा प्रवाह गरेका छन् । अन्य धेरै बैंकले समेत अर्बौंको कर्जा दिएका छन् ।

तर, एनआइसी एशिया बैंकको भने सेयर धितो कर्जा अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ ।

प्रतिक्रिया