पाँच महिनामा सार्वजनिक ऋण १.१४ खर्बले बढ्यो

काठमाडौँ । मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मंसिरसम्मको ऋण प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ र बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

गत असार मसान्तको तुलनामा मंसिर मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँले बढेको प्रतिवेदनमा उल्लेख छ। असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

हालको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४५.६६ प्रतिशत पुगेको छ। यसले अर्थतन्त्रमा ऋणको भार बढ्दै गएको संकेत गर्दछ।

चालु आर्थिक वर्षमा सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ। तर, चालु आवको पहिलो पाँच महिनामा १ खर्ब ७८ अर्ब १२ करोड रुपैयाँ मात्र ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको २९.४० प्रतिशत हो।

पाँच महिनाको अवधिमा १ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ ऋण प्राप्त हुँदा १ खर्ब ६७ अर्ब १ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको छ। भुक्तानी गरिएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय