लिपुलेक सम्झौताप्रति समाजवादी मोर्चाको घोर आपत्ति

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले लिपुलेक व्यापारिक नाकासम्बन्धी भारत र चीनबीच भएको सहमति प्रति आपत्ति जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त सम्झौताको घोर विरोध प्रकट गरेका हुन्।

मोर्चाले सार्वजनिक गरेको विज्ञप्तिमा पुलान–गुन्जीमार्ग हुँदै लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने भारत–चीन सहमतिले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर असर पारेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक तथ्य र द्विपक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य अंश भएको पुष्टि गर्छन्। तर ती भूभागमा भारतीय अतिक्रमण निरन्तर भइरहे पनि नेपाल सरकारले पर्याप्त पहल गर्न सकेको छैन।”

साथै, मोर्चाले सरकारलाई तत्काल कूटनीतिक पहलमार्फत भारत र चीन दुबैलाई नेपालको आधिकारिक दृष्टिकोण प्रस्ट्याउन, सहमतिप्रति असहमति जनाउन र कब्जामा रहेका भूभाग फिर्ता ल्याउन आवश्यक कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया