शोधनान्तर बचत दोब्बर, १० महिनामै ८ खर्ब ६३ अर्ब नाघ्यो

काठमाडौं । मुलुकमा विदेशी मुद्राको आप्रवाह उल्लेख्य रूपमा बढ्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा शोधनान्तर स्थिति गत वर्षको तुलनामा झण्डै दोब्बर भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेको थियो।

अमेरिकी डलरमा मापन गर्दा गत वर्षको १० महिनामा ३ अर्ब २३ करोड डलर रहेको शोधनान्तर बचत चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५ अर्ब ९८ करोड डलर पुगेको छ।

शोधनान्तर स्थिति भनेको निश्चित अवधिभित्र आवासीय तथा गैरआवासीय व्यक्ति वा संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको समग्र विवरण हो। शोधनान्तर बचत बढ्नुले मुलुकमा विदेशी मुद्रा भित्रिने क्रम बाहिरिनेभन्दा बढी रहेको संकेत गर्छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता पनि उल्लेख्य रूपमा सुधारिएको छ। चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा यो २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ बचतमा थियो। अमेरिकी डलरमा चालु खाताको बचत २ अर्ब १ करोड डलरबाट बढेर ५ अर्ब ५ करोड डलर पुगेको छ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी हो।

त्यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

रेमिट्यान्स आप्रवाह, चालु खातामा सुधार तथा वैदेशिक लगानी वृद्धिको सकारात्मक प्रभावले मुलुकको बाह्य क्षेत्र थप सुदृढ बन्दै गएको देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय