काठमाडौं । स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो।
स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औं मिनेटमा प्राप्त पेनाल्टीलाई ओयार्जाबालले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।
खेलको सुरुआतमा फ्रान्सले केही राम्रो अवसर सिर्जना गरेको थियो। विशेषगरी कप्तान किलियान एम्बाप्पेले काउन्टर आक्रमणमार्फत दबाब बनाउने प्रयास गरे। तर १९ वर्ष पूरा गरेको भोलिपल्ट मैदान उत्रिएका युवा विङ्गर लामिन यामललाई फ्रान्सका लुकास डिनले पेनाल्टी क्षेत्रभित्र लडाएपछि स्पेनले अग्रता लिने अवसर पाएको थियो। पेनाल्टी रोक्न माहिर मानिने गोलकिपर माइक मेग्ननलाई झुक्याउँदै ओयार्जाबालले सहज गोल गरे।
स्पेनले ५८औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो। डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदान गरेका पेड्रो पोरोले फर्किएको बललाई नियन्त्रणमा लिएर पोस्टको तल्लो कुनामा आकर्षक प्रहार गर्दै दोस्रो गोल गरेका हुन्।
दोस्रो गोलपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा उतारेर खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। स्पेनका गोलकिपर उनाई सिमोनले उत्कृष्ट बचाउ गरे भने डिफेन्डर मार्क कुकुरेलाले एम्बाप्पेलाई प्रभावहीन बनाउँदै फ्रान्सको आक्रमणलाई नियन्त्रणमा राखे।
पूरै खेलमा स्पेनले बल नियन्त्रण र अवसर सिर्जनामा स्पष्ट दबदबा कायम राख्यो। फ्रान्सले खेलभरि केवल दुई वटा प्रहार मात्रै पोस्टको दिशामा गर्न सक्यो।
सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन त्यसयता पहिलो पटक फाइनलमा पुगेको हो। यता, फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने अवसरबाट वञ्चित भएको छ।
अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता अर्जेन्टिना वा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।