काठमाडौं । सरकारले चीन र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्ति भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।
फिर्ता बोलाइएका सबै राजदूतलाई कात्तिक २० भित्र नेपाल फर्कन निर्देशन दिइएको छ।
फिर्ता बोलाइएकामध्ये चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका नेत्रप्रसाद तिमिल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका दुर्गाबहादुर सुवेदी रहेका छन्।
मन्त्रिपरिषद्ले नयाँ राजदूत पठाउने तयारी पनि अघि बढाउने संकेत गरेको छ।