काठमाडौं । अबदेखि सेयर बजारमा कारोबार गर्न चाहने लगानीकर्ताले आफ्ना बैंक खातामा पर्याप्त रकम राख्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (TMS) सिधै बैंक खातासँग जडान गर्ने तयारी थालेको हो ।
बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार अब दोस्रो बजारबाट सेयर खरिद गर्दा लगानीकर्ताको खातामा पैसा भएको खण्डमा मात्रै खरिद आदेश स्वीकृत हुनेछ ।
यस व्यवस्थाले अहिलेसम्म प्रचलनमा रहेको ‘उधारो कारोबार’ प्रणालीलाई समाप्त गर्दै सेयर कारोबारमा पारदर्शिता, जवाफदेहिता र जोखिम नियन्त्रणमा टेवा पुग्ने बोर्डको भनाइ छ । अब लगानीकर्ताले सेयर किन्नुअघि नै खातामा रकम सुनिश्चित गर्नुपर्नेछ ।