काठमाडौं । नेपालको पुँजी बजारमा पछिल्लो समय उतारचढाव भइरहे पनि शेयर धितो कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने यस्तो कर्जा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा उत्साहजनक रूपमा बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालू आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म शेयर धितो कर्जा ११.०७ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा कम रहेको थियो ।
विशेषगरी १० करोड रुपैयाँभन्दा माथिको कर्जामा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । यो वर्गको कर्जा २४.९९ प्रतिशतले बढेर ९८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यसले ठूला लगानीकर्ता तथा संस्थागत लगानीकर्ताको सक्रियता बढेको संकेत गरेको छ ।
५ करोडदेखि १० करोड रुपैयाँसम्मको कर्जामा पनि १७.३८ प्रतिशतले वृद्धि भई १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । यसले मध्यमस्तरका लगानीकर्ताहरू पनि बजारमा सक्रिय बन्दै गएको देखाउँछ ।
त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ८.५१ प्रतिशतले बढेर १७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने २५ लाखभन्दा कम कर्जामा ७.०५ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । साना लगानीकर्ताहरू अझै सावधानी अपनाउँदै आफ्नै पूँजी प्रयोगमा बढी केन्द्रित रहेको देखिन्छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र घट्दो ब्याजदरले शेयर कर्जा विस्तारमा महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ । राष्ट्र बैंकले कर्जा सीमामा लचकता ल्याउनु र जोखिम भारसम्बन्धी व्यवस्थामा सुधार गर्नुले पनि यस्तो कर्जा वृद्धि भएको हो ।
विशेषज्ञहरूका अनुसार बैंकबाट सस्तो दरमा कर्जा प्रवाह हुँदा बजारमा माग बढ्ने र त्यसले नेप्से परिसूचकमा सकारात्मक प्रभाव पार्ने गर्दछ । ठूलो परिमाणमा कर्जा प्रवाह हुँदा विशेषगरी ठूला तथा बढी पुँजीकरण भएका कम्पनीहरूको शेयरमा आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।
हाल अन्य क्षेत्रतर्फ कर्जाको माग सुस्त रहेका बेला शेयर बजार बैंकहरूका लागि तुलनात्मक रूपमा आकर्षक र तरल क्षेत्र बनेको छ । लगानीकर्ताले शेयर धितो राखेर सजिलै कर्जा लिन सक्ने र बैंकले पनि छिटो असुली गर्न सक्ने भएकाले दुवै पक्षका लागि यो अवस्था अनुकूल देखिएको छ ।
यस अवधिको तथ्यांकले नेपाली पुँजी बजार क्रमशः परिपक्व हुँदै गएको र संस्थागत कर्जाको उपयोग बढ्दै गएको संकेत गरेको छ । आगामी दिनमा ब्याजदर न्यून रहिरहे र मौद्रिक नीति थप लचक बनेमा शेयर धितो कर्जा अझै विस्तार हुने र बजारमा थप सुधार आउने अपेक्षा गरिएको छ । साथै, कर्जाको बढ्दो परिमाणले बैंकिङ प्रणालीमा पार्ने सम्भावित जोखिमप्रति नियामक निकाय सतर्क रहनुपर्ने देखिएको छ ।