• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

कामना सेवा विकास बैंकको नाफामा अत्याधिक वृद्धि

काठमाडौ - कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशत अर्थात ५.८४ गुणा बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र खुद कमिशन तथा फि आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशत घटेको छ। जसले गर्दा सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ।

प्रतिक्रिया