साउनमा अहिलेसम्मकै उच्च निर्यात, ९५ प्रतिशतले बढ्यो व्यापार

मुलुकको वैदेशिक व्यापार लयमा फर्किएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनको तथ्यांकले यस्तो संकेत गरेको छ। यस अवधिमा निर्यात पोहोरको तुलनामा करिब दोब्बर भएको छ। भन्सार विभागका अनुसार साउन महिनामा निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। अघिल्लो वर्षको साउनमा १२ अर्ब २२ करोड रुपैयाँको मात्र निर्यात भएको थियो।

निर्यात भएका प्रमुख वस्तुमा भटमासको तेल, प्लाइउड, फलफूल, जुस, धागो, गलैंचा र अलैंचीलगायत छन्। तीमध्ये भटमासको तेल सबैभन्दा ठूलो हिस्सा ओगट्दै करिब साढे १० अर्ब रुपैयाँ बराबर विदेश पठाइएको छ। निर्यात बढेसँगै व्यापार घाटा कम हुने भएकाले यसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। कोभिडपछिका वर्षदेखि कमजोर बनेको निर्यात व्यापार फेरि लयमा फर्किएको देखिन्छ।

गत आर्थिक वर्ष २०८१/८२ मा पनि निर्यात करिब ८२ प्रतिशतले बढेको थियो। सो अवधिमा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएकोमा आव २०८१/८२ मा बढेर दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ पुगेको थियो। निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार यसमा नीतिगत सुधारसँगै भटमासको तेल प्रमुख कारक बनेको हो।

तर यो वृद्धि दीर्घकालीन नहुन सक्ने चेतावनी समेत छ। कारण, भटमासको तेल उत्पादनका लागि कच्चा पदार्थ स्वदेशमा नभई विदेशबाट आयात गर्नुपर्छ। त्यसलाई प्रशोधन गरेर पुनः विदेश पठाइने भएकाले यसमा जोखिम रहन्छ।

भन्सार विभागका अनुसार चालु आवको पहिलो महिनामा कुल एक खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड बराबरको निर्यात छ। आयात ११.४२ प्रतिशतले बढेको छ।

सबैभन्दा ठूलो व्यापार भारतसँग भएको छ। भारतबाट ८३ अर्ब ५३ करोड बराबरको आयात भएको छ भने १९ अर्ब ४५ करोड बराबरको निर्यात गरिएको छ। चीन दोस्रो स्थानमा रहेको छ, जहाँबाट २७ अर्ब ९९ करोड बराबरको आयात र मात्र पाँच करोड ४८ लाख बराबरको निर्यात भएको छ। एक महिनामै कुल व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.५५ प्रतिशतले बढी हो।

आयातमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ। साउन महिनामै पाँच अर्ब ७७ करोड बराबरको पेट्रोल, पाँच अर्ब ८८ करोड बराबरको डिजेल र चार अर्ब ६६ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ। गत वर्ष कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब रुपैयाँ पुगेको थियो। आव २०८०/८२ मा १४ खर्ब ४० अर्ब घाटा रहेकोमा आव २०८१/८२ मा बढेर १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो।

सरकारले व्यापार घाटा कम गर्न स्वदेशमै उत्पादन वृद्धि गर्ने नीतिगत योजना अगाडि सारेको छ। हाल नेपालले १ सय ३० भन्दा बढी मुलुकसँग व्यापार घाटा ब्यहोर्दै आएको छ। निर्यात प्रवर्द्धनका लागि सरकारले सिमेन्टलगायत करिब तीन दर्जनभन्दा बढी वस्तुमा अनुदान उपलब्ध गराइरहेको छ। साथै, स्वदेशी वस्तुको उत्पादन, बजार विस्तार र निर्यात प्रोत्साहनका लागि ‘मेड इन नेपाल, मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यसअन्तर्गत सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर र जुत्तालगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात विस्तार गर्ने योजना बनाइएको छ।

प्रतिक्रिया