कोशीदेखि सुदूरपश्चिमसम्म चट्याङसहित वर्षा हुने पूर्वानुमान

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय