आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ६९ रनको अर्धशतक प्रहार गरे। आसिफ शेखले २४, गुलशन झाले १८ र आदिल आलमले १६ रन जोडे।
नेपालले पावरप्लेमा कुनै विकेट नगुमाई ५३ रनको बलियो सुरुवात गरे पनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो।
जवाफमा १५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनमै रोकियो। ओमानका विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रन जोडे।
बलिङतर्फ नेपालका गुलशन झाले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिए। नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट झारे भने सन्दीप लामिछानेले १ विकेट जोडे।
ओमानका नदीम खानले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए, भने शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट झारे।
यो जितसँगै नेपालले ४ खेलमा पूर्ण ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र ओमान दुवै टोली पहिले नै आगामी विश्वकपका लागि छनोट भइसकेका छन्।
नेपालले यसअघि आइतबार यूएईलाई र सोमबार कतारलाई हराएको थियो। अब नेपालले शुक्रबार सामोआविरुद्ध आफ्नो अन्तिम खेल खेल्नेछ।