५ अर्ब नोक्सानी देखाउँदै विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक

काठमाडौं — नेपाल विद्युत प्राधिकरण (नेविप्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीय अवस्था, भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र सार्वजनिक गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको श्वेतपत्रमा प्राधिकरण हाल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको उल्लेख छ।

शाक्यले आफ्नो कार्यकालको मूल्यांकन तथा भविष्यको योजना निर्माणका लागि श्वेतपत्र आवश्यक रहेको भन्दै, प्रस्तुत तथ्यांकका आधारमा पारदर्शिता कायम राख्न यसको प्रकाशन गरिएको बताए। उनले आर्थिक वर्ष २०८०/८१ सम्म प्राधिकरणको कुल संचित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ भए पनि आयकर ऐनअनुसारका समायोजनसहित नाफा-नोक्सानी गणना गर्दा कुल ५ अर्ब २६ करोडको घाटा देखिएको जानकारी दिए।

महालेखाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार नेविप्राले ७ अर्ब १९ करोड रुपैयाँ खर्च लेखाजोखा नगरेको, ४ अर्ब ७२ करोड आम्दानी बढी देखाएको तथा २९ अर्ब ९१ करोड आम्दानी यथोचित रुपमा बाँधेको छैन। यस्ता फरकका कारण लेखा विवरण र वास्तविक वित्तीय अवस्थाबीच गम्भीर अन्तर देखिएको शाक्यले बताए।

शाक्यका अनुसार आर्थिक विवरणको विश्वसनीयता कायम गर्न सम्पूर्ण सम्पत्ति तथा दायित्वको स्पष्ट मूल्यांकन गर्न “सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)” प्रक्रिया अघि बढाइनेछ। डीडीएपछि प्राप्त हुने वास्तविक वित्तीय विवरणसहितको अर्को प्रतिवेदन पनि यसै श्वेतपत्रको निरन्तरतामा प्रकाशित गरिनेछ।

 

प्रतिक्रिया