साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घट्दै २८०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक पछिल्लो १७ कारोबार दिनपछि पहिलोपटक २८०० विन्दु तल पुगेको हो। यसअघि गत असार ३२ गते नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको थियो। मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ४.०३ अंक, फ्लोट इन्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ अंकले घटेका छन्।
सूचकसँगै कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्बभन्दा बढीको शेयर किनबेच भएको बजारमा यस दिन ३२३ कम्पनीको ७८ हजार २२६ पटकको कारोबारमार्फत १ करोड ७६ लाख ७१ हजार कित्ता शेयर किनबेच भई ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से घटेपनि सिटि होटलको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ८० प्रतिशत हकप्रद शेयर समायोजनपछि बजारमा आएको यस कम्पनीको शेयरमूल्य ५७ रुपैयाँ ७८ पैसा बढेर ६३६ रुपैयाँ २० पैसामा पुगेको छ। त्यस्तै, समाज लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। विपरीत, सिक्लेस हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा पुगेको छ। यस कम्पनीको शेयरमूल्य ११४ रुपैयाँ ५५ पैसा घटेर १,०३२ रुपैयाँ ५१ पैसामा बन्द भएको छ।
कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो, जसको २६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ, जसको करिब २४ करोड रुपैयाँको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको कारोबार रकम पनि २० करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूह मात्र १.३२ प्रतिशतले बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ।