काठमाडौँ — हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव परेको छ। महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफादेखि आंशिक बदली अवस्थामा रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने उल्लेख गर्दै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जनाएको छ। मौसमको यस अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।