काठमाण्डौ । शेयर बजार बुधबार पनि झण्डै ५० अंकले घटेर बन्द भएको छ।
गत तीन कारोबार दिनमा नेप्से सूचक १२२।५८ अंकले घटिसकेको छ। बुधबार पनि नेप्से सूचक ४८।४२ अंकले घटेर ३०७६।४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ।
घटेको बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। मंगलबार १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे ८ अर्बमा झरेको छ।
यस दिन ८ अर्ब ५० करोड ६७ लाख ८१ हजार ४१४ रुपैयाँ बराबरको १ करोड ३३ लाख ७९ हजार ८४७ कित्ता शेयर कारोबार भएको छ।
घटेको बजारमा पनि बुधबार जीवन विकास लघुवित्त र आइसिएफसि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने आइसिएफसि फाइनान्सको ९।९९ प्रतिशत, माउन्टेन इनर्जीको ७।६९ प्रतिशत, दिब्यश्वरी हाइड्रोको ३।२६ प्रतिशतले बढेको छ।
बुधबार पनि खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९।९८ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ६।०६ प्रतिशत, जनरल इन्स्योरेन्सको ५।६९ प्रतिशत र नेपाल फाइनान्सको ५।५६ प्रतिशतले घटेको छ।
बुधबार पनि कारोबारमा भने हाइड्रोपावरकै बर्चस्व देखिन्छ। यस दिन अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै ४८ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिद्धि हाइड्रोपावरको ४८ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ७१ लाख र नेशनल हाइड्रोपावरको ३६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेको छ जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २।८२ प्रतिशतले घटेको छ।