भुक्तानी सेवा प्रदायकका लागि राष्ट्र बैंकको नयाँ नियम, वालेटमा राष्ट्रिय परिचयपत्र जोड्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थामार्फत खोलिने डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधन गरेको छ।

भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायकका अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गर्नुपर्नेछ।

संशोधित व्यवस्थाअनुसार अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण उपलब्ध भए वा नभएको सम्बन्धमा स्वघोषणा लिनुपर्नेछ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकले पनि २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउने दायित्व सम्बन्धित संस्थाको हुनेछ।

विदेशमा बसोबास गर्ने नेपाली नागरिकले भने हालको व्यवस्थाअनुसार विदेशबाटै आवश्यक कागजातका आधारमा अनलाइनमार्फत विद्युतीय वालेट खोल्न सक्नेछन्। तर, नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र वित्तीय कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकामा समावेश गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय