काठमाण्डौ – पछिल्लो समय नेपाली शेयर बजारले दैनिक नयाँ कृतिमान कायम गर्दै बजार अगाडि बढिरहेको छ ।
सरदर ५ अर्बको कारोबार हुने बजारमा केही दिन यता यो दोब्बर बढेको छ । १२ अर्ब माथिको कारोबार रकम छुन सफल बजारले अघिल्लो हप्ता २८ सय विन्दु पनि पार गरेर उच्च रेकर्ड कायम गरेको छ ।
यसै बीच बजार बन्द रहने बीच २ दिनमा राजनीतिक रुपले धेरै उथलपुथल भएको छ । संसद विघटन भएको छ भने कार्तिक र मंसिरको लागि चुनाव घोषणा गरिएको छ ।
केही महिना यताको सरसर्ती हेर्ने हो भने राजनीतिक प्रभावले शेयर बजारलाई खासै असर पारेको देखिँदैन तर यो पटकको घटनाक्रमले नयाँ लगानीकर्ता केही हचकिने अवस्था भने अवश्य आउँछ ।
केही अन्योल र चुनावको विषयले बजारलाई केही दिन नकारात्मक असर पार्ने देखिन्छ तर अवस्था अनुमान गरे जस्तो नहुन पनि सक्छ । किन भने अहिले धेरैको ध्यान शेयर बजारमै छ । अन्य क्षेत्र धेरै ठप्प छन् बैंक ले ब्याजदर घटाउँदै लागेका छन् । यसको प्रभावले अहिले शेयर बजारको खड्को काट्न सक्ने धेरैको अनुमान छ ।
यो साता नेप्से परिसूचक १०३ दशमलव १७ अंक माथी उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा रहेको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ७८७ दशमलव १८ विन्दुमा पुगेको छ । यो साताको पाँच कारोबार दिनमध्य चौथो दिन मात्र बजार १३ दशमलव शून्य ९ विन्दुले घटेको छ भने बाँकी ४ दिन बढेको छ । गत सातको दोस्रो कारोबारदिनदेखि बढेको बजारमा यो साता नाफा बुक गर्ने हाबी हुँदा एक दिन मात्र प्रभावित भएको छ ।
यस साता रू. ५२ अर्ब ६० करोड २९ लाख १९ हजार बराबरको शेयर कारोबार भएको छ । शेयर बजारले कारोबार रकमको ऐतिहासिक रेकर्ड यसै साता कायम गरेको हो । नेपालको शेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार साताको चौथो दिन जेठ ५ गते भएको छ । उक्त दिन रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर कारोबार भएको हो । औषतमा रू. १० अर्ब ५२ करोड ५ लाख ८३ हजार बराबरको शेयर कारोबार भएको यो साता गत साताभन्दा कारोबार रकम रू. २३ अर्ब ९८ करोड ६५ लाख ८ हजारले बढी भएको छ ।