काठमाडौं—पुँजी बजारमा विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेको अवस्थामा फेरी अर्को लघुवित्त कम्पनीले आईपीओ जारी गर्ने भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. ले सर्वसाधारणका लागि करिव सवा ८ करोडको आईपीओ निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । क्यापिटलसँग सम्झौता भएकाले अन्य प्रक्रिया पुरा गरेर आईपीओ निष्कासन गर्ने योजना बनाएको छ ।
पर्वत जिल्लाको कुश्मावजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था २०७४ साल चैत्र २८ गते पव्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको थियो ।
नेष्डोको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । दुई संस्था र ८१ जना व्यक्ति गरी कुल ८३ जना संस्थापक शेयरधनी रहेको वित्तीय संस्थाको चुक्तापुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ ।
वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत झण्डै ८० हजार विपन्न परिवारलाई समूहमा आवद्ध गरी सेवा दिँदै आएको छ ।