काठमाडौं–युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन(आईपीओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि रेटिङ भएको छ । रेटिङमा ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो ।
रेटिङ एजेन्सिका अनुसार कम्पनीको ब्रान्च तथा अभिकर्ताको नेटवर्क धेरै राम्रो रहेको छ । जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क आर्जनका हिसावले कम्पनीको बजार हिस्सा ८ प्रतिशत हाराहारी रहेको छ । तर नयाँ आएका १० जीवन बीमा कम्पनीहरु मध्येको बजार हिस्सा भने २७ प्रतिशत रहेको छ । कम्पनीको शाखा सञ्जाल २०२ वटा रहेको छ भने सक्रिय अभिकर्ताको संख्या १४ हजार भन्दा धेरै रहेका छन् अर्को तर्फ कम्पनीबाट अभिकर्ताको काम गर्न ५० हजार भन्दा धेरैले लाइसेन्स प्राप्त गरेका छन् ।
कोभिड १९ का कारण सरकारले निषेधाज्ञा तथा लकडाउन गर्दा कम्पनीको व्यवसाय बृद्धिमा भने असर पुर्याएको एजेन्सीले प्रतिवेदनमा उल्लेख गरेको छ । अझै पनि कोभिडको प्रभाव कायम रहेको र मृत्युदर बढिरहेको हुँदा कम्पनीमा दाबी पर्न सक्ने सम्भाव्यता पनि उत्तीकै रहेको रेटिङ एजेन्सीले जनाएको छ ।
कम्पनीको प्रमुख शेयरधनीहरुमा शेखर गोल्छाको १९.९ प्रतिशत, साहिल अग्रवालको १९.९ प्रतिशत, सुलभ अग्रवालको १८ प्रतिशत, सन्दिप कुमार अग्रवालको ६.६ प्रतिशत, शरद कुमार टिवरेवालको ६.६ प्रतिशत शेयर पूँजी रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।