नेपाल लाईफ इन्स्योरेन्स करोडौं नोक्सानीमा

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले करिब साढे १९ करोड खुद नोक्सानी व्यहोरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत ५२ करोड ८२ लाख ९४ हजार रुपैयाँ छुट्याएसँगै नोक्सानी व्यहोर्नु परेको हो।

कम्पनीले जोखिम बापत व्यवस्थाको गणना गर्दै पुल व्यवस्थापन अधि आव २०७५ पुस मसान्तसम्म जारी गरिएको वैदेशिक रोजगार बीमामध्ये १ करोड ३४ लाख ८३ हजार रुपैयाँ, पुल व्यवस्थापनपश्चात आव २०७७÷७८ को बीमाकिंय मूल्यांकनबाट आएको असमाप्त जोखिम बापत व्यवस्थाको ८८ प्रतिशत अर्थात १६ करोड ३६ लाख ९५ हजार र चालु आवको तेस्रो त्रैमाससम्मको पुल व्यवस्थापनबाट आएको बीमा शुल्कसहितको जम्मा २८ करोड ८१ लाख ९४ हजार रुपैयाँ व्यवस्था गरेको छ।

चैत मसान्तसम्ममा कम्पनीले २६ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क २५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी १० अर्ब ६० करोड ८६ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले बीमालेख धितोबापत २३ अर्ब २२ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बीमा कम्पनीको जगेडा तथा कोषमा ४४ करोड ४९ लाख ६५ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ३१ अर्ब १६ करोठ रुपैयाँ र महाविपत्ती कोषमा ७२ करोड १८ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया