काठमाडौं – विदेशी लगानीकर्ताहरूको निरन्तर सेयर बिक्रीको प्रभावले भारतको प्रमुख सेयर बजार सूचकांक लगातार दसौं दिनसम्म ओरालो लागेको छ। मंगलबार निफ्टी ५० सूचकांक ०.७ प्रतिशतले घट्दै पछिल्लो नौ महिनाको सबैभन्दा न्यून बिन्दुमा पुगेको छ। ब्लुमबर्गका अनुसार, सेप्टेम्बरको उच्च विन्दुबाट हालसम्म निफ्टी ५० सूचकांक १६ प्रतिशतले घटिसकेको छ।
भारतीय सेयर बजारमा जारी यो गिरावटको प्रमुख कारण विदेशी संस्थागत लगानीकर्ताहरू (FII) द्वारा भइरहेको निरन्तर पूँजी बाहिरिने प्रवृत्ति हो। तुलनात्मक रूपमा उच्च मूल्यांकन, भारतको आर्थिक वृद्धिमा आएको सुस्तता तथा अन्य आकर्षक लगानी गन्तव्यहरू उपलब्ध हुनुले विदेशी लगानीकर्ताहरूलाई भारतीय बजारबाट लगानी फिर्ता गर्न प्रेरित गरेको छ। यो वर्ष मात्र विदेशी लगानीकर्ताहरूले भारतीय बजारबाट करिब १४ अर्ब डलर झिकिसकेका छन्।
विशेषगरी, चिनियाँ सेयर बजारमा सुधार आउनु र अमेरिकी डलर मजबुत बन्नुले भारतको इक्विटी बजारमा विदेशी लगानीको आकर्षण घटाएको देखिन्छ। साथै, भारतीय कम्पनीहरूको अपेक्षाभन्दा कमजोर वित्तीय नतिजा र अन्य उदीयमान बजारको तुलनामा उच्च मूल्यांकनका कारण भारत लगानीकर्ताहरूको प्राथमिकता सूचीमा नरहेको विश्लेषकहरूले बताएका छन्।
भारतीय सेयर बजारमा आएको निरन्तर गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रत्यक्ष रूपमा गम्भीर असर नपरे पनि लगानीकर्ताको मनोवैज्ञानिक प्रभावका कारण केही अस्थिरता देखिन सक्छ। नेपाल र भारतबीच आर्थिक, वित्तीय तथा लगानी सम्बन्ध रहेका कारण भारतीय बजारमा देखिने नकारात्मक धारणा नेपालमा पनि परिलक्षित हुन सक्छ।
भारतीय बजारमा विदेशी लगानीकर्ताले पूँजी झिकेपछि नेपालका लगानीकर्ताहरूमा पनि नकारात्मक भावना आउन सक्छ। यसले नेपालमा सेयर बिक्रीको दबाब बढाउन सक्छ। दि विदेशी लगानीकर्ताहरू उदीयमान बजारबाट पूँजी झिक्न थालेमा नेपालको अर्थतन्त्रमा पनि अप्रत्यक्ष असर पर्न सक्छ। यद्यपि, नेपालको सेयर बजारमा विदेशी लगानी न्यून भएकाले प्रत्यक्ष प्रभाव सीमित रहन्छ।
भारतमा आर्थिक वृद्धिदर सुस्त हुँदा नेपालको निर्यातमा असर पर्न सक्छ, जसले समग्र अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्छ। यो अवस्था लामो समयसम्म रहेमा सेयर बजारमा नकारात्मक मनोभावना कायम रहन सक्छ।
यद्यपि, नेपालको सेयर बजार स्वदेशी लगानीकर्ताको वर्चस्वमा रहेको हुँदा भारतीय बजारमा आएको गिरावटको प्रत्यक्ष असर सीमित रहनेछ। तर, लगानीकर्ताहरूले सतर्कता अपनाउनुपर्ने देखिन्छ।