काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक सन्देशमा उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
प्रधानमन्त्री शाहले सुनसरी घटनाले समाजमा भय, अविश्वास र विभाजनको अवस्था सिर्जना गरेको भन्दै आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि घटनाबाट मर्माहत भएको उल्लेख गरेका छन्। उनले पीडित परिवारको दुःख आफूले महसुस गरेको बताउँदै सरकारले यथाशीघ्र न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णय र सुधारका कदम अघि बढाइरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि दृष्टिले सामान्य विषय नभएको उल्लेख गर्दै यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनअनुसार कारबाही हुने बताएका छन्। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र जिम्मेवार ढंगले आवश्यक निर्णय लिने उनको भनाइ छ।
पीडित परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले परिणाम नआउन्जेल आक्रोश, प्रतिशोध र उत्तेजनाबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले नागरिकलाई सुरक्षित र संयमित रहन, कुनै पनि उत्तेजनात्मक गतिविधिमा सहभागी नहुन तथा एकअर्काप्रति प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्न पुनः अपिल गरेका छन्।