४० करोड डलर ऋण लिने सरकारको तयारी


काठमाडौं–विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत नेपाललाई ४० करोड अमेरिकी डलर अर्थात् करीब ४८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।


यस्तो ऋण लिन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका अधिकारीहरू र आईएमएफका अधिकारीहरूबीच ‘एक लेभल’मा सहमति समेत जुटिसकेको छ । आइएमएफले यसबारेमा जानकारी दिँदै आईएमएफका मिशन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीसँग नेपालका अधिकारीहरूले पटकपटक छलफल गरेको र यस्तो ऋण दिन आईएमएफ तयार भएको हो ।


ग्रेगोरीसहित आईएमएफको टोली गत अक्टोबर २० देखि २९, नोभेम्बर १७ र १८ तथा नोभेम्बर ३० देखि डिसेम्बर २ तारीखसम्म नेपालमा समेत आएको थियो । उक्त टोलीले अघिल्लो साता अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेको थियो । त्यस बेला ऋणको बारेमा छलफल भएको थियो ।


ऋण रकम आईएमएफको कार्यकारी बोर्ड बैंठकबाट भने स्वीकृत हुन बाँकी छ । यस्तो रकम ३८ महीनाका लागि उपलब्ध गराउन गरी आगामी बोर्ड बैठकबाटै ऋण स्वीकृति गर्ने तयारी भइरहेको आईएमएफले जनाएको छ । सामान्यतया विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर हुँदा आईएमएफले ईसीएफ उपलब्ध गराउँदै आएको छ । हालै आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार यो शर्तसहितको ऋण हो । नेपालले लिन लागेको ईसीएफबाट कोभिड–१९ महामारीका कारण प्रभावित अर्थतन्त्र उकास्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व जोगाउन र गरीबी न्यूनीकरणका विभिन्न कार्यक्रममा खर्च गरिनेछ ।


आईएमएफका अनुसार कोभिड महामारीले नेपालको अर्थतन्त्रमा ठूलो असर पारेको छ, जनताको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । सन् २०१९÷२० मा कुल गार्हस्थ्य उत्पादनमा समेत संकुचित आएको र नेपालले २०२१ मा विनाशकारी दोस्रो लहरको सामना ग¥यो, जसले अर्थतन्त्र गतिविधिमा क्रमिक सुधारमा बाधा पु¥याइरहेको विज्ञप्तिमा उल्लेख छ ।

। राजस्व र सार्वजनिक खर्च बढाउन, वित्तीय क्षेत्र नियमन, सुपरिवेक्षण र आर्थिक पारदर्शिता कायम गर्न कार्यान्वयन गरिने विभिन्न कार्यक्रम र भ्रष्टाचार निवारण प्रयास तथा प्रशासनिक क्षमता अभिवृद्धि पनि यो ऋण परिचालन हुने आईएमएफले स्पष्ट पारेको छ । घट्दो विप्रेषण तथा वैदेशिक लगानी र बढ्दो व्यापारघाटाका कारण पछिल्लो समय नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । भुक्तानी सन्तुलनमा चाप देखिन थालेपछि सरकारले ईसीएफ ल्याउने तयारी गरेको हो ।


कोरोना भाइरस महामारीका कारण नेपालले आर्जन गर्ने विदेशी मुद्रामा निरन्तर कमी आई सञ्चिति घट्दो छ । यसले विदेशी मुद्रा विनिमयमा संकट उत्पन्न हुँदै आएको छ । नेपालले खासगरी विश्व बैंक, एशियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्राकोषलगायतबाट ऋण लिँदै आएको छ । 
 

प्रतिक्रिया