विश्वकपमा सर्वाधिक गोलकर्ता बने मेसी, अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत डलासमा गएराति सम्पन्न खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले दुवै गोल गरे। यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन्।

३९ वर्ष पुग्न लागेका मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन्। यसअघि जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजे १६ गोलसहित शीर्ष स्थानमा थिए। मेसीले उनको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन्।

मेसीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयमै अर्को गोल थप्दै उनले टोलीको जित सुनिश्चित गरे।

खेलको सुरुआतमै मेसीसँग कीर्तिमान बनाउने अवसर आएको थियो। आठौँ मिनेटमा अष्ट्रियाका स्टेफन पोस्चले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर मेसीको प्रहार पोस्टबाहिर गएको थियो।

यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले जारी विश्वकपमा दुई खेलबाट पाँच गोल गरिसकेका छन्।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसी हाल आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले हालसम्म २०१ खेलमा १२१ गोल गरिसकेका छन्।

विश्वकप इतिहासमा मेसीपछि मिरोस्लाभ क्लोजे १६ गोलसहित दोस्रो स्थानमा रहेका छन्। अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा अभियानलाई मजबुत बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय