नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित, वैकल्पिक रूपमा विशेष महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको औपचारिक रूपमा जानकारी गराएका छन्। बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशनको विकल्प अहिलेका लागि विशेष महाधिवेशन मात्रै रहेको स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ।’

यससँगै महाधिवेशन स्थगित भएको परिस्थितिबारे विस्तृत जानकारी दिँदै उनीहरूले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता इन्ट्रीको अवस्थाबारे पनि प्रष्ट पारेका छन्। हालसम्म ५ लाख ७९ हजार ३९५ क्रियाशील सदस्यता नवीकरण भइसकेको र बाँकी जिल्लाहरूको नवीकरण प्रक्रिया टुंगिएपछि यो संख्या करिब ६ लाख नाघ्ने अनुमान गरिएको छ। त्यस्तै १ लाख ९५ हजार ७३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भइसकेको उल्लेख गरिएको छ।

महाधिवेशन पुस २६ गते सम्पन्न गर्ने लक्ष्यअनुसार अन्य कार्यतालिका अघि बढाउन नसकिएकाले सम्पूर्ण प्रक्रिया प्रभावित भएको र त्यसकै कारण उत्पन्न भएको अन्योल अन्त्य गर्न यो वक्तव्य जारी गरिएको उनीहरूको भनाइ छ।

यता, कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प सुरुमा नियमित महाधिवेशन नै रहेको तर नियमित महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसक्ने अवस्था देखिएपछि फेरि विशेष महाधिवेशन नै वैधानिक विकल्पका रूपमा अगाडि आएको स्पष्ट गरिएको छ।

पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको दायित्व भएको र सो प्रक्रियालाई सकेसम्म सर्वसम्मतिमा अघि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ।A

प्रतिक्रिया