काठमाडौँ - चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा शुक्रबार बिहान ३ बजे माइक्रोबस र बस ठोक्किँदा चारजनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ। मृत्यु हुने र गम्भीर घाइते सबैजना माइक्रोबसका यात्रु हुन् भने बसका चारजना सामान्य घाइते भएका छन्।
मुग्लिनबाट नारायणगढ जाँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र विपरीत दिशाबाट आएको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको थियो। प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार घाइतेमध्ये गोरखा जिल्लाका ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको छ भने भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत करिब ४० वर्षकी एक महिलाको पनि मृत्यु भएको छ।
अन्य दुईजनामा ३२ र ३५ वर्षका पुरुष रहेका छन्, जसको उपचारका क्रममा मृत्यु भएको छ। नाम नखुलिसकेका यी तीनैजना माइक्रोबसका यात्रु हुन्। माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ भने बसका सहचालक, काठमाडौंका ३० वर्षीय भोजविक्रम शाह पनि सामान्य घाइते भएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।