त्रिभुवन विमानस्थलमा ६ अर्ब लागतको नयाँ इन्धन डिपो बन्ने

काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माणका लागि अनुमानित लागत ६ अर्ब ५४ करोड रुपैयाँ नाघ्ने भएको छ। पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवा विभागले बिहीबार नेपाल आयल निगमलाई विस्तृत परियोजना प्रतिवेदन (DPR) हस्तान्तरण गर्दै यस्तो लागत विवरण पेस गरेको हो।

विमानस्थलको विस्तार योजनाअनुसार हालको डिपो रहेको स्थानमा 'ट्याक्सी वे' निर्माण गर्न नागरिक उड्डयन प्राधिकरणले तयारी गरिरहेको छ। त्यसैले सिनामंगल चोकस्थित वर्तमान डिपोलाई गुहेश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्समा सार्न मन्त्रिपरिषद्को निर्णयअनुसार प्रक्रिया अघि बढेको हो। केही भूभागमा ट्याक्सी वेको काम थालिसकेको प्राधिकरणले डिपो स्थानान्तरण प्रक्रिया दुई वर्षभित्र सम्पन्न गर्न निगमलाई निर्देशनसमेत दिएको छ।

यद्यपि, निगमले प्राधिकरणलाई लिज सम्झौता गर्न ढिलाइ गरेको आरोप लगाउँदै आएको छ। निगमका उपनिर्देशक तथा नयाँ डिपो निर्माण संयोजक प्रदीप यादवका अनुसार, गुहेश्वरीको जमिन खाली गराएर भाडासम्बन्धी सम्झौता भए आगामी भदौमा टेन्डर आह्वान गरी मंसिरदेखि निर्माण कार्य सुरु गर्न सकिनेछ।

यसैबीच, सिनामंगल डिपोमा कार्यरत इन्जिनियर अनुपम पराजुलीका अनुसार, हालको डिपो सुरक्षाका हिसाबले संवेदनशील स्थानमा भएकाले नयाँ प्रविधियुक्त संरचना आवश्यक रहेको बताइएको छ। एक वर्षअघि सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले उक्त क्षेत्रको सुरक्षा चिन्तालाई गम्भीर बनाएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय