काठमाडौं—पछिल्लो समय नेपालको पूँजी बजारमा पैसावाल मात्र नभएर आम सर्वसाधारणको पनि आकर्षण बढिरहेको छ । शेयर भर्नका लागि नै कतिले पहिलो पटक बैंकमा खाता खोलिरहेका छन् । त्यसैको पछिल्लो उदाहरण हो मध्य भोटेकोशीको शेयर भर्नेको लर्को । मध्य भोटेकोशीले स्थानीयका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरे पछि सिन्धुपलाञ्चोकका स्थानीय आईपीओ भर्न निकै उत्साहित छन् ।
शेयर भर्न बाह्रविसे नगरपालिकाका दुर्गम गाउँबस्तीहरुबाट सर्वसाधारणहरु गाडी रिजर्भ गरेर आएका छन् । एउटा गाडीको ८ देखि १० हजारसम्म भाडा तिरेर सेयर भर्न गाउँबाट बजार आएका छन् । कोभिड १९ संक्रमण फैलिएको भए पनि त्यसलाई बेवास्ता गर्दे मध्यभोटेकोशीको शेयर भर्न सिन्धुपलाञ्चोकको गाउँबाट बजार आए पछि बैंकहरुमा भिड लागेको छ । आयोजना प्रभावित बाह्रविसे र नगरपालिकाका गाउँ गाउँबाट सेयर भर्न स्थानीय बजार आएका हुन् ।
शेयर भर्न सर्वसाधारण गाउँ गाउँबाट गाडी रिजर्भ गरेर आएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिनले बताइन् । पाख्रिनका अनुसार गाउँ गाउँबाट बलेरो रिर्जभ गरेर स्थानीय सेयर भर्नका लागि बाह्रविसे बजारमा आएका छन् । मध्यभोटेकोशी जलविद्युत आयोजनाले विद्युतीयमाध्यम इसेवा, आईएमई पेबाट सेयर भर्न मिल्ने बनाए पनि गाउँका मान्छेहरुले यो सुविधा प्रयोग गर्न नजान्ने भएकाले आएका हुन् ।
मध्य भोटेकोशीले मंगलवारदेखि स्थानीयका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ६० करोड रुपैयाँको कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । दोस्रो दिनसम्म ६ लाक कित्ताका लागि आवेदन परेको छ । कम्पनीले कुल कित्ता मध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रभित्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गाविस र मार्मिङ गाविस), बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस ) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाहरु रहेका छन् । । शेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले स्थानीयय वासिन्दाका लागि विक्री खुला गरेको यो शेयर छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ ।
सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।
कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले स्थानिय सहित आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्न लागेको हो ।
कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुग्छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।